वेलिङटन, साउन ९ । फिलिपिन्सले फिफा महिला विश्वकप २०२३ मा कीर्तिमानी जित हात पारेको छ।
समूह ‘ए’ अन्तर्गत वेलिङटनमा भएको खेलमा पहिलो पटक विश्वकप खेलिरहेको फिलिपिन्सले सह-आयोजक न्युजिल्यान्डलाई १-० गोलले पराजित गर्दै कीर्तिमानी जित निकालेको हो।
विश्वकपमा फिलिपिन्सले पहिलो जित तथा पहिलो गोल गर्दै इतिहास रच्न सफल भयो। फिलिपिन्सका लागि खेलको २४ मिनेटमा सरिना बोल्डेनले कीर्तिमानी गोल गरेकी थिइन्।
यता फिलिपिन्ससँग पराजित भएपछि न्युजिल्यान्डले नकआउट चरणमा पुग्न स्विट्जरल्यान्ड विरुद्धको खेल कुर्नु पर्ने भएको छ। यसअघि समूहको पहिलो खेलमा न्युजिल्यान्डले नर्वेलाई हराएको थियो भने फिलिपिन्सले स्विट्जरल्यान्डसँग पराजय भोगेको थियो।
फिलिपिन्सकी लागि कीर्तिमानी गोल गर्ने क्रममा सरिनाले सारा एग्गेसभिकको क्रसमा हेड गरिन्। महिला विश्वकपमा देशको लागि पहिलो गोल गरेपछि उनले ठूलो उत्सव मनाएकी थिइन्।
दोस्रो हाफमा घरेलु समर्थकका अगाडि न्युजिल्यान्डले बराबरी गोल गर्ने अवसर पाएको थियो। ज्याकी ह्यान्डको प्रहारले जाली चुमे पनि भिडियो सहायक रेफ्रीले अफसाइडको घोषित गर्यो।