काठमाडौं, साउन १० । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने संसद बैठक अवरोध गर्ने तयारी गरेको छ। विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेको माग छ।
यसकै तयारीका लागि एमालेले संसदीय दलको बैठक बोलाएको छ। दिउँसो १ बजे बस्ने संसद बैठकको तयारीको लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए। ‘हामीले १२ बजे संसदीय दलको बैठक बोलाएका छौं। त्यही बैठकले आवश्यक निर्णय गर्छ,’ उनले भने, ‘सुन प्रकरणमा हामीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छौं। यस प्रकरणमा उहाँको कमजोरी देखिएको छ।’
गत मंगलबार त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा ट्याक्सीबाट ब्रेक शुसहित झन्डै १०० किलोको सुन बरामद गरिएको थियो। घटनाबारे भने बुधबार सार्वजनिक भएको हो। उक्त प्रकरणमा १० जनालाई समातिएको छ। यही प्रकरणलाई लिएर एमालेका नेताहरूले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताउदै आएका छन्।