बारा, साउन १० । आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माईती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं र दाङबाट दुई जना पक्राउ
काठमाडौंमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महर्जनले ती बालिकालाई सोही नगरपालिका–४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दाङमा पनि १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगपरलिका–१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । खनालले ती किशोरीलाई विवाह गर्छु भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।