काठमाडौं, साउन ११ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ । यसअघि साउन ४ गते हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । हिजो बुधबारको तुलनामा सुन बिहिबार प्रतितोला आठ सय रुपैयाँ बढेको हो । यससँगै सुनको मूल्य ऐतिहासिक रेकर्ड नजिक पुगेको छ ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।