काठमाडौं, साउन ११ । सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले ५ वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन लागेको हो ।
समितिले सोमवार ४५ दिनको समय राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । सोमवार सार्वजनिक गरिएको बोलपत्रको अन्तिम मिति २०८० को भदौ २२ गतेसम्म रहेको छ । पोर्ट मेनेजमेन्ट, कन्टेनर फ्रेट स्टेशन मेनेजमेन्ट, फ्रेन्ट टर्मिनल मेनेजमेन्ट, वयरहाउस, ट्रान्सपोटेसन, क्लियरिङ एण्ड फरवार्डिङ र फ्रेन्ट फरवार्डिङमा कम्तीमा ५ वर्षको अनुभव भएका कम्पनीले बोलपत्रमा भाग लिने पाउने समितिले जनाएको छ ।
३ वर्षको औसत वित्तीय करोबार कम्तीमा ६० लाख रुपैयाँ बराबरको हुनुपर्ने पनि प्रावधान समेत राखिएको छ । समितिका कार्यकारी निर्देशन आशिष गजुरेलले कानुन अनुसार नै बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरिएको जानकारी दिनुभयो । कानुन तथा निजी क्षेत्रले सञ्चालन गर्दा बन्दरगाहले नाफा आर्जन गर्ने अपेक्षा सहित जिम्मा दिन लागिएको उहाँको भनाइ छ ।
'हाम्रो यस अघिको अनुभवले नै सरकारले भन्दा निजी क्षेत्रले सञ्चालन गर्दा नाफा भएका छन्, यस अघिका अनुभव अनुसार चोभार पनि निजी क्षेत्रलाई दिन लागेका हौँ', उहाँले भन्नुभयो । सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी सञ्चालक कम्पनी छनोटका लागि समितिको छुट्टै टर्मिनल पट्टा बहालमा दिने सम्बन्धी नियमावली, २०७० र नियमावली अनुसार सञ्चालक कम्पनीको छनोट प्रस्तावदाताको प्रस्तावित प्राविधिक तथा आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कन विधिबाट गर्ने गरिएको छ ।
छनोट हुने कम्पनीको विज्ञता प्रयोग गरी चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन भएपछि पूर्ण क्षमतामा सञ्चालनमा आउने र व्यापार सहजीकरण चुस्त, छिटो छरितो र किफायती हुने विश्वास समितिले लिएको गजुरेलको भनाइ छ ।
उहाँका अनुसार अहिले सञ्चालनमा रहेका ६ वटै बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै आएका छन् । गएको आर्थिक वर्ष २०७९/८० मा मात्रै समितिले निजी क्षेत्रले बन्दरगाह सञ्चालन गरेर दिएको रकमबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । २२० रोपनीमा फैलिएको चोभार बन्दरगाह विश्व बैंकको १ अर्ब ५ सय ६७ करोड रुपैयाँ ऋण सहयोगमा निर्माण गरिएको थियो । विसं २०७५ सालदेखि निर्माण थालिएको बन्दरगाह गएको चैत २२ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।