Kath khabar
ढल्यो कोशी सरकार, मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्चद्वारा बदर

 

                 विराटनगर, साउन ११ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार ढलेको छ । सरकार गठनका लागि सभामुखले हस्ताक्षर गर्न नपाउने सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्चको आदेशसँगै कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । २२ दिन अघि मुख्यमन्त्री बनेका थापा सर्वोच्चको आदेश पछि पदमुक्त भएका हुन्।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ ।

गत असार २१ मा काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । सभामुख बाबुराम गौतम सहितको हस्ताक्षरबाट थापा मुख्यमन्त्री बनेका थिए । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।

अदालतले सभामुखको भूमिका प्रदेशसभामा राजनीतिक रुपमा तटस्थ र निष्पक्ष रहनुपर्ने कुरा नेपालको संविधानले प्रष्ट व्यवस्था गरेको उल्लेख गर्दै कुनै पनि निर्णय प्रदेशसभामा हुन नसक्ने वा अनिर्णयको बन्दी प्रदेशसभा बन्न नजाओस् भनि प्रदेशसभामा हुने निर्णयमा मत बराबर भएमा निर्णायक मत मात्रै प्रदान गर्न पाउने अधिकार नेपाल संविधानको धारा १८६ मा व्यवस्था रहेको स्मरण गराइएको छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्नेगरी काम नगर्न आदेश गर्दै लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update