काठमाडौं, साउन १२ । गएको आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौँ रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको आवमा १६ अर्ब ८ करोड रुपैयाँभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ ।
स्याउ : ७ अर्ब ९ करोड
विभागका अनुसार गएको आवमा ७ अर्ब ९ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको ८ करोड ३२ लाख ७४ हजार ३ सय ३१ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले ८६ करोड ८३ लाख ८९ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।
सार्वजनिक विवरण अनुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ । चीनबाट मात्र ५ अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट १ अर्ब ९३ करोड ८ लाख ७८ हजार, अमेरिकाबाट ५० लाख ३४ हजार, स्विट्जरल्यान्डबाट २७ लाख २० हजार रुपैयाँ बराबरको स्याउ आयात भएको विवरण छ ।
अङ्गुर : २ अर्ब
गएको आवमा २ अर्ब १५ करोड ८८ लाख ७६ हजार रुपैयाँ बराबरको ३ करोड ९ लाख ८ हजार १ सय ७२ केजी ताजा अङ्गुर आयात भएको छ । त्यसबाट सरकारले ११ करोड १ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ताजा अङ्गुर सबैभन्दा धेरै भारतबाट २ अर्ब १३ करोड ७६ लाख ६५ हजार र चीनबाट २ करोड १२ लाख ३ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
केरा : १ अर्ब ६२ करोड
विभागका अनुसार गएको आवमा १ अर्ब ६२ करोड ७३ लाख ९९ हजार रुपैयाँ बराबरको केरा आयात भएको छ । ५ करोड ३३ लाख ९४ हजार ७ सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले २९ करोड ४३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।
अनार : ९३ करोड ४९ लाख
विभागका अनुसार गएको आवमा ८९ लाख ४ हजार १ सय २७ केजी अनार आयातमा ९३ करोड ४९ लाख ३५ हजार रुपैयाँ बाहिरिएको छ । जसबाट सरकारले ९ करोड ४९ लाख ९० हजार रुपैयाँ राजस्व उठाएको छ ।
सुन्तला : ८८ करोड १८ लाख
सार्वजनिक विवरण अनुसार गएको आवमा ८८ करोड १८ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ८७ हजार ८ सय ८१ केजी सुन्तला आयात भएको छ ।
त्यस्तै १ करोड ५५ लाख ५१ हजार ३ सय ६८ केजी अम्बा तथा आँप आयातमा ७० करोड २ लाख ७२ हजार रुपैयाँ बाहिरिएको छ । साथै २ करोड ७० लाख ७७ हजार २ सय ८६ केजी खरबुजा आयातका लागि ६८ करोड ९५ लाख ४० हजार रुपैयाँ बराबर रकम बाहिरिएको छ ।
नेपालको हावापानी सुहाउँदो फलका रूपमा रहेको मेवाको आयात समेत उच्च देखिन्छ । विभागका अनुसार गएको आवमा ८८ लाख ३५ हजार ३ सय ८ केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य ३० करोड ९० लाख ८१ हजार रुपैयाँ बराबर छ ।
यस अवधिमा १३ करोड ६२ लाख ५८ हजार रुपैयाँ बराबरको ३० लाख ५० हजार ८ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार ७ सय ३८ किलो नास्पाती आयातमा १२ करोड ३६ लाख २६ हजार रुपैयाँ खर्च बाहिरिएको छ ।
त्यस्तै ९ करोड ४५ लाख ७८ हजार बराबरको २ लाख ५८ हजार ६ सय २८ किलो एभोकाडो आयात भएको छ भने ७ करोड ५२ लाख २१ हजार रुपैयाँ बराबरको ४ लाख १० हजार ३ सय २२ किलो किबी आयात भएको छ ।