Kath khabar
चिकित्सकीय लापरबाहीको मुद्दामा ३० लाख क्षतिपूर्ति तिर्न कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश

 

                 काठमाडौं, साउन १२ ।  सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठमा क्षतिपूर्ति हुने ठहर गरिएको हो ।

आदेशमा भनिएको छ, 'आधार, प्रमाण र कारणबाट कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीको कारणले पीडित ८ महिनाको बच्चा आलोक बरालको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि हुन आएको देखिएको छ ।'   श्वासप्रश्वासमा समस्या भएर अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्याइएका ८ महिनाका आलोकलाई  गलत खोप दिँदा क्षति पुगेको भन्दै रकम भराउन भनिएको हो । 

विसं २०७३ साल असार २२ गते ती बालकलाई उपचारका लागि  अस्पतालको इमर्जेन्सीमा पुर्याइएको थियो । पीडित बालकका बुबा ध्रुव कुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको थियो ।

त्यही राति शम्भु विक नामका अर्कै बालकका लागि ल्याइएको खोप आलोकलाई लगाइएको थियो । त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुनाका साथै दिसा, पिसाब चुहिनेजस्ता लक्षण देखिएको थियो । काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट डा. आयुष्मा रेग्मीले तयार पार्नुभएको प्रतिवेदन बमोजिम ती लक्षण मेनेन्जाइटिस मलेरियाको खोपबाट साइड इफेक्ट भएको प्रमाणित भएको अदालतको ठहर थियो।

फैसलाको पूर्ण पाठमा भनिएको छ, 'त्यस लक्षण इन्जेक्सन मोन्टाजको साइडइफेक्टको लक्षणसँग मिलेको पाइयो, यसरी अस्पतालको लापरबाहीका कारण गलत औषधिको अधिक मात्रा  प्रयोग गरी ८ महिनाको बच्चाको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिक लगायत असर परेको देखिँदा निज पीडित बालकलाई अस्पतालबाट क्षतिपूर्ति भराइ दिनुपर्ने अप्रत्यक्ष दायित्व सिर्जना भएको देखियो ।'

आफ्नो बच्चाको स्वास्थ्यप्रति अस्पतालले लापरबाही गरेकाले क्षतिपूर्तिको माग गर्दै उहाँले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको थियो । यो विवाद उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियोे ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update