काठमाडौं, साउन १५ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ खिलाङ्ग स्थित सेती नदिको बिच भागमा अड्किएका व्यक्तिको सशस्त्र प्रहरीले साउन १४ गते सकुशल उद्वार गरेको छ ।
सुर्खेत जिल्ला घर भई सोही ठाउँ बस्ने २१ वर्षीय तेज बहादुर घर्तीमगर पौडी खेल्ने क्रममा नदिको बिच भागमा अडकिएका थिए । सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली खटिई उनको सकुशल उद्वार गरेको हो । यसैगरी सोही जिल्लाको पोखरा महानगरपालिका १८ स्थित सराङकोटमा पहिरोमा परी क्षति भएको दुई वटा घरको सामान सुरक्षित स्थानमा सारिएको छ ।
सोही ठाउँ बस्ने ४७ वर्षीय सुन्दर श्याम अधिकारी र ५० वर्षीय मैत कुमारी हमालको घरमा वर्षाको कारण पहिरो गई क्षती पुगेको थियो । घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचरका लगायतका सामान नम्बर २४ कालिका गण कास्कीबाट खटिएको सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा सुरक्षित स्थानमा सारेको हो ।