Kath khabar
पाकिस्तानको इस्लामिक पार्टीले गरेको र्‍यालीमा आत्मघाती विस्फोटमा ४४ जनाको ज्यान गयो

 

                  खैबर पख्तुनख्वा, साउन १५ ।  पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्‍यालीमा विस्फोट हुँदा ४४ जनाको ज्यान गएको छ । १०० जनाभन्दा धेरै घाइते भएका छन् ।

उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बाजोर जिल्लामा जमियत-उलेमा-ए-इस्लाम-फजल (जेयूआईएफ) ले आयोजना गरेको र्‍यालीमा बम विस्फोट भएको बीबीसीले जनाएको छ । विस्फोटमा जेयूआईएफका १ प्रमुख नेता पनि मारिएका छन् ।

स्थानीय प्रहरीले विस्फोटमा परेर  ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी अस्पताल पठाइएको छ । १५ जनाको अवस्था गम्भीर छ । विस्फोट हुनुको यकिन कारण खुलेको छैन । तर, प्रहरीले आत्मघाती आक्रमण भएको प्रमाण भेटिएको बताएका छन् ।

विस्फोट भएको क्षेत्रलाई घेराबन्दी गरिएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको भर्त्सना गर्दै छानबिनका लागि निर्देशन दिनुभएको छ । खैबर पख्तुनख्वा प्रान्त अफगानिस्तानको सीमा क्षेत्रसँग जोडिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update