काठमाडौं, असार ५ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोसले मुस्ताङमा जोखिमपूर्ण तरिकाले बाढी आएको खोलामा खोप तार्दै गरेको स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् मानिसको जीवन बचाउन स्वास्थ्यकर्मी कसरी खटिन्छन् र यस्ता हिरोहरूलाई भ्याक्सिन नलगाइने कतिसम्म न्यायोचित हुने भनेर चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
’मानिसको जीवन बचाउन स्वास्थ्यकर्मी कसरी खटिन्छन् भन्ने यो भिडियोले देखाएको छ । अझ पनि धेरै ठाउँमा यस्ता हिरोहरूलाई भ्याक्सिन नलगाइने कतिसम्म न्यायोचित हो ?,’ डा. टेड्रोसले भन्नुभएको छ ।
खोपको समान वितरणको वकालत गर्दै आएका टेड्रोसले भन्नु भएको छ, ‘खोपको समान वितरणका लागि हाम्रो शक्ति र कर्तव्यअनुसार सकेजति गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने?’ असार १ गते मुस्ताङको छापताङ खोला बढेपछि सुरक्षित तरिकारले खोप लैजाने क्रममा स्वास्थ्यकर्मीहरुले लठ्ठीको सहाराले खोला तारेको थिए । उक्त कार्य सामाजिक सञ्जालमा भाइरल भएको थियो भने धेरैले स्वास्थ्यकर्मीहरुको उच्च प्रशंसा समेत गरेको पाईन्छ।