काठमाडौं, साउन १७ । सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।
नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । अब ग्यास प्रतिसिलिन्डर १६६० रूपैयाँ पर्नेछ। निगमले मंगलबार जारी गरेको सूचनाअनुसार भारतबाट मूल्य बढेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो ।