भोजपुर, साउन १७ । भोजपुरमा माछा मार्न सँगै गएका साथीको हत्या गरेको अभियोगमा आरोपमा पक्राउ परेका ५ जना कारागार चलान भएका छन्।
जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो। उमेर नपुगेका १ जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ।
भोजपुर नगरपालिका-११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, सोही ठाउँका १६ वर्षीय बालक, वडा नं १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैचा नगरपालिका-८ का २२ वर्षीय रोजिश कार्कीलाई कारागार पठाइएको हो।
उनीहरु विरुद्ध ज्यान सम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दा अन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले जानकारी दिए।
जिल्ला अदालतको मङ्गलबार थुनछेक आदेश अनुसार पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि जिल्ला कारागार तथा १६ वर्षीय बालकलाई बालगृह पठाइएको उनले बताए।
विसं २०८० असार २२ गते भोजपुर-१२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधान सहित ७ जना वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएका थिए।
६ जना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर-१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए। प्रधानका बुबा देवी प्रसादको जाहेरीका आधारमा प्रहरीले अभियोग लागेका माथि अनुसन्धान थालेको थियो।