काठमाडौं, साउन १८ । नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलन बुधवार चौथो दिनमा प्रवेश गरेको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले प्रधानमन्त्री निवास बालुवाटार अगाडि बिहान ९ बजेदेखि १० बजे सम्म शान्तिपूर्ण धर्ना दियो । बालुवाटारमा विहान धर्ना कार्यक्रमको सुरुवात गर्दै महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन व्यवसायीहरूको रहर नभई बाध्यता भएको स्पष्ट पार्नुभयो ।
महासंघका मागहरू पूरा नभए सबै निर्माण कार्यहरू ठप्प पारी सशक्त आन्दोलनमा उत्रने अध्यक्ष सिंहले बताउनुभयो । बालुवाटारको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका मानार्थ सदस्य गेल्जे लामा, सल्लाहकार तथा पूर्व अध्यक्षहरू यक्षध्वज कार्की, जयराम लामिछाने, महासचिव रोशन दाहाल लगायतका वक्ताहरूले राज्य निर्माण उद्योगको शत्रुको रुपमा देखिएको भन्दै कडा आपत्ति जनाउनुभयो । महासंघले दिउँसो ३ बजेदेखि ४ बजे सम्म नयाँ बानेश्वरमा धर्ना दिएको थियो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महसंघका अध्यक्ष रवि सिंह, पूर्व अध्यक्ष रमेश शर्मा, सल्लाहकार तथा पूर्व अध्यक्ष जयराम लामिछाने, महासचिव रोशन दाहाल लगायतले महासंघको जारी आन्दोलनलाई कम आकलन नगर्न राज्यको ध्यानाकर्षण गराउँदै यथाशक्य छिटो माग पूरा हुनुपर्ने बताउनुभयो । प्रशासनले निर्माण उपकरणहरू जफत गरेपछि महासंघले विना निर्माण उपकरण धर्ना कार्यक्रम आयोजना गरेको हो ।
धर्नामा सहभागीहरूले विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमा निर्देशिका-२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर लगायतका नारा लगाएका थिए । अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजनाहरू एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कारवाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, श्रोतमा कट्टा गरेको अग्रिम आयकर र मु.अ.करको कट्टी रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने लगायतका माग पनि महासंघले अघि सारेको छ ।
महसंघले आज बिहीवार पनि प्रधानमन्त्री निवासमा बिहान ९ बजेदेखि १० र संघीय संसद अगाडि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना दिने महासंघका प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिनुभयो ।