Kath khabar
एमालेका सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित


               काठमाडौं, साउन १८ ।  राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ ।  नेकपा (एमाले) का सांसदहरुको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको हो । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन पर्ने माग गर्दै एमालेका सांसदहरुले राष्ट्रिय सभा अवरुद्ध गरेका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाउन आग्रह गरेपनि एमाले सांसदहरुले उठेर विरोध कायम राखेपछि बैठक स्थगित भएको हो । उनले सुन तस्कारका विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको र  उक्त विषय छलफल र संवादबाट समाधान गर्न पटक–पटक आग्रह गरे। राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिउँसो दिनको १ः०० बजे बस्नेछ ।

आजको बैठक प्रारम्भ हुने बित्तिकै नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाए। ‘सुन तस्कारी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ,’ उनले भने, ‘दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह छ।’ उनले यही साउन ३ गते एक टनभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारुपमा हेर्न नहुने बताए।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुन तस्कारका विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको र  उक्त विषय छलफल र संवादबाट समाधान गर्न पटक–पटक आग्रह गरे।  उनले जनतासमक्ष आफ्ना कुरा राख्नका लागि शून्य समय, विशेष समय भएको र त्यसमार्फत भनाइ राखेर संसद् सञ्चालन हुन दिन आग्रह गरेका थिए। अध्यक्ष तिमिल्सिनाको आग्रहपछि पनि एमालेले अवरोध जारी राखेपछि आजको बैठक स्थगित भएको हो।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update