काठमाडौं, साउन १९ । प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबारको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
संबैधानिक परिषद् सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाका अनुसार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई वरिष्ठताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो ।
यसरी परिषद् बाट सिफारिस भएका श्रेष्ठको संसदीय सुनुवाइ भई अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्त गर्ने परम्परा रहेको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की आज (शुक्रबार) बाट अवकासमा जाँदैछन्। एक महिनाअघि नै प्रधानन्यायाधीशको सिफारिस गर्ने संवैधानिक प्रावधान भए पनि राजनीतिक दलका शीर्ष नेताहरूबीच तालमेल नमिल्दा संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन ।