काठमाडौं, साउन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको उच्चस्तरीय छलफलपछि गत साउन ३ गते बरामद भएको १०० किलो सुन प्रकरणको अनुसन्धानको नेतृत्व गर्न सीआईबीलाई दिन लागिएको हो।
प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निर्देशनमा चल्ने विभागले तीन अनुसन्धान अधिकृत खटाएर अनुसन्धान गरिरहेको थियो । राजस्व अनुसन्धान विभागले अहिले अनुसन्धान गरिरहेको छ ।
विभागबाट भइरहेको अनुसन्धानले अपराधमा संलग्नको नेक्सन पत्ता लगाए पनि यो संगठित र अन्तरदेशीय अपराध भएकोले जरैसम्म पुग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धान हुनुपर्ने प्रधानमन्त्री दाहालले बताएका छन् ।
गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पास गरेर बाहिरिएको एक सय किलो सुन सिनामंगलबाट बरामद गरेको थियो ।