उत्तराखण्ड, साउन १९ । उत्तराखण्डको केदारनाथ मार्ग गौरीकुण्डमा अविरल वर्षासँगै आएको भीषण पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। पहिरोमा १९ जना बेपत्ता छन्। बेपत्तामध्ये अधिकांश नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
जागरणमा प्रकाशित समाचारअनुसार पहिरोमा २ पसल र एउटा ढाबाको छाप्रो पुरिएको छ। विपत् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवार सहितको रेस्क्यु टोली घटनास्थल पुगेको छ। उद्धार टोलीले मन्दाकिनी नदी किनारबाट तीनजनाको शव निकालेको छ।
पहिरोमा परेर बेपत्ता भएका १९ जनाको खोजीकार्य जारी रहेको अधिकृत नन्दनसिंहले जानकारी दिए। जिल्ला विपत् व्यवस्थापन अधिकृत नन्दनसिंहका अनुसार घटनास्थल नजिक नेपालीको ढाबा थियो। उनीहरू कर्णाली प्रदेश निवासी रहेको समाचारमा जनाइएको छ। उनीहरूको पहिचान भने खुल्न सकेको छैन।