ललितपुर, साउन २१ । बागमती प्रदेशको उद्योग तथा सामान्य प्रशासनमन्त्री भएको घोषणा लगत्तै रामकृष्ण चित्रकार आइतबार अपरान्ह महालक्ष्मी नगरपालिकाले सो नगरको वडा नं ९ को कार्यालय लामाटारमा आयोजना गरिएको डेंगुरोग रोकथाम तथा नियन्त्रण कार्यक्रममा सहभागी भएका छन् ।
मन्त्री घोषणा हुनुअघि चित्रकार ललितपुर जिल्ला क्षेत्र नं ३ बाट प्रदेश सभा सदस्य थिए । नगरपालिका द्वारा ‘डेंगु रोगको सम्भावित महामारी रोकथाम तथा नियन्त्रण को लागि आयोजना गरिएको स्थानीय जनप्रतिनिधि र सम्वन्धित सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा चित्रकार मन्त्री भए लगत्तै प्रमुख अतिथि भएर पुगेका थिए ।
नवनियुक्त मन्त्री चित्रकारलाई महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष जयकृष बोगटी तथा सो वडाका जनप्रतिनिधिहरुले वडा कार्यालयमा स्वागत गर्दै बधाई समेत दिएका थिए । यो नै मन्त्री भएपछिको चित्रकारको पहिलो औपचारिक कार्यक्रम हो । उनले मन्त्रीको शपथ लिन भने बाँकी छ र यसको लागि उनी बागमती प्रदेश हेटौडामा पुग्नुपर्छ ।
महालक्ष्मी नगरपालिका वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीको सभापतित्वमा भएको सो कार्यक्रमको विशेष अतिथि महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ थिए भने अतिथिहरूमा नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान अनिल गुरुङ्ग र आधारभूत स्वास्थ्य केन्द्र लामाटारका प्रमुख डा.रोमिन श्रेष्ठ थिए ।
वडा नं ९ क्षेत्रमा डेँगुको संक्रमण नदेखिएता पनि महालक्ष्मी नगर क्षेत्रभित्र भने यसको संक्रमण देखिएपछि नगरपालिकाले नगरको १० वटै वडामा यसबारे सचेतना अपनाउन थालिसकेको नगरप्रमुख हरिगोविन्द श्रेष्ठले बताए । अभिभुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त मन्त्री चित्रकारले डेंगु लगायतका सबै प्रकारका सरुवा रोग नियन्त्रण गर्दै बागमती प्रदेशका जनताको स्वास्थ्य प्रति प्रदेश सरकार संवेदनशिल भएर काम गर्ने प्रष्ट पारे ।
सो अभिमुखी कार्यक्रममा श्रृंगेरी माविका प्रधानाध्यापक सुनिता छतकुल्ली, वडा सचिव लनारायणकुमार श्रेष्ठका साथै आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा वडाका पदाधिकारीहरू स्वास्थ्य स्वयम् सेविकाहरूको सहभागिता थियो ।