काठमाडौं, साउन २२ । ५ महिनाअघि पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको एटीआर-७२ जहाजको ब्ल्याकबक्स रिपोर्ट आइपुगेको छ। पर्यटन मन्त्रालयद्वारा गठित जाँच आयोगले उक्त रिपोर्ट अध्ययन-विश्लेषण गरिरहेको एक सदस्यले बताए।
‘अहिले एनालाईसिस र कम्पाइलेसन भइरहेको छ। फाइनल रिपोर्ट यही महिना भित्रै तयार गरेर मन्त्रालयलाई बुझाउँछौं। त्यसपछि अन्तर्राष्ट्रिय चलन अनुसार थप २ महिना जहाज उत्पादक कम्पनी लगायत विभिन्न क्षेत्रबाट राय लिनका लागि पठाइने छ,’ उनले भने,’उनीहरुको राय अनुसार ठीक भएको अवास्थामा ६० दिनमा अन्तिम प्रतिवेदन सार्वजनिक गरिनेछ।’
गत माघ १ गते काठमाडौंबाट गएको यतीको नाइन एन-एएनसी कलसाइनको एटीआर-७२ जहाज पोखरा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। घटनामा चालक दल सहित ७२ जनाको निधन भएको थियो। केही महिना अघि जाँच आयोगले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको मुख्य कारण पत्ता नलागेपछि पुनः अध्ययन थालिएको थियो।
सिकागो कन्भेन्सनको एनेक्स १३ अनुसार अतिरिक्त ६० दिन अन्तिम प्रतिवेदनबारे प्रतिक्रिया लिनका लागि छुट्याइएको जानकारी जाँच आयोगका ती सदस्यले दिए।
उनका अनुसार अब अन्तिम प्रतिवेदन तयारीको प्रक्रिया अगाडि बढाइएको छ। आयोगले दुर्घटना भएको जहाजको करिब एक दर्जन उपकरणको फ्रान्सस्थित ब्युरो अफ इन्क्वाइरी एण्ड एनालिसीस फर सिभिल एभिएसन सेफ्टीमा पठाएको थियो।