काठमाडौं, साउन २२ । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन सोमबारबाट शुरु भएको छ । जस अनुसार निर्माण व्यवसायीहरूले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालयदेखि संसद भवन अगाडि सम्म सिठ्ठी जुलुस गरेका थिए ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वमा रहेको सोही जुलुस बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोण सभामा बदलिएको थियो । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहनु भएका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले व्यवसायीहरूको रकम तत्काल भुक्तान गर्न सरकारसँग माग गर्नुभयो ।
निर्माण व्यवसायीहरूको रकम भुक्तान हुनुपर्ने विषयमा आफूले संसदमै कुरा उठाइसकेको स्मरण गराउँदै शाहीले अब अर्थ समितिमा पनि यो विषय प्राथमिकता सहित उठान गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘सरकारले काम लगाएपछि रकम भुक्तानी गर्नैपर्छ, आफ्नो अधिकार पाउनका लागि निर्माण व्यवसायीहरू सडकमै ओर्लनु राज्यकै कमजोरी हो’ शाहीले भन्नुभयो । निर्माण उद्योगमा धेरै समस्याहरू रहेको स्वीकार गर्दै शाहीले त्यस्ता समस्या समाधानका लागि सार्वजनिक खरिद ऐनमै संशोधन आवश्यक रहेको बताउनुभयो ।
मुलुकको कर्मचारीतन्त्रका कारण पनि निर्माण व्यवसायीहरू मारमा परेको उहाँको भनाइ थियो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन शुरु गर्नुपरेको बताउनुभयो । म्याद थप मात्र समस्याको समाधान होइन भन्दै अध्यक्ष सिंहले म्याद थपसँगै भुक्तानीको व्यवस्था नहुँदा निर्माण उद्योगको समस्या जटिल हुँदै गएको धारणा राख्नुभयो
महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताउनुभयो । महासंघका प्रवक्ता समेत रहनु भएका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले सोमबारको विरोध कार्यक्रमलाई आगामी शुक्रबारसम्म निरन्तरता दिइने जानकारी दिनुभयो । घिमिरेले शुक्रबारसम्म पनि माग पूरा नभए साउन २८ बाट तेस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरिने बताउनुभयो । साउन २८ सोमबारदेखि अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरू अनिश्चितकालका लागि बन्द गर्ने महासंघले जनाएको छ । त्यस्तै विकासे विभागहरूमा पालैपालो बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।
तेस्रो चरणकै कार्यक्रम अन्तर्गत महासंघले निर्माण विज्ञहरूबीच प्रत्यक्ष सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गर्नेछ । आफ्ना मागहरू पूरा नभए थानकोट तथा भक्तपुरको साँगा नाकामा आलोपालो गरी दैनिक एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ । महासंघको जारी आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका विभिन्न संघ संस्थाहरूले ऐक्यवद्धता जनाइसकेका छन् ।