Kath khabar
लण्डन र न्युयोर्कबाट फिर्ता ल्याइएको ११ औँ र १८ औँ शताब्दीका सूर्य र महिषासुर मर्दिनीको मूर्ति पदस्थापन गर्ने तयारी

 

                    ललितपुर, साउन २२ ।  करिब ४० वर्षअघि काठमाडौंका विभिन्न स्थानबाट हराएका २ प्रस्तर मूर्ति फिर्ता ल्याइएको छ । जसमा एउटा पाटन सौगोल टोलबाट हराएको सूर्यको मूर्ति छ भने अर्को महिषासुर मर्दिनीको मूर्ति रहेको छ ।

बेलायतका एक मूर्ति संग्रहकर्ताले संग्रह गरेको अवस्थामा भेटिएपछि सूर्यको मूर्ति फिर्ता गर्ने प्रक्रिया अघि बढेको थियो । महिषासुर मर्दिनीको मूर्ति भने अमेरिकाको न्युयोर्कबाट फिर्ता गरिएको हो । सूर्यको मूर्ति ११ औं शताब्दीको मानिएको छ । एघारौं शताब्दीमा निर्मित खरानी रङको चून ढुङ्गाको सूर्य मूर्ति लण्डनस्थित नेपाली दूतावासले लिएर नेपाल पठाएको थियो ।

सन् १९८५ मा पाटनबाट हराएको उक्त मूर्ति कलाकार लैनसिंह बाङ्देलको पुस्तक ’स्टोलन इमेजेज् अफ नेपाल’ मा सूचीबद्ध छ । मूर्ति ७९ सेमी उचाई, ४९ सेन्टिमिटर लम्बाइ र १५ सेमी चौडाइ रहेको यस मूर्तिको तौल ४१ केजी छ । फिर्ता गरिएको मूर्ति पुरातत्व विभाग मार्फत् पुरानै स्थानमा पुनर्स्थापना गरिने बताइएको छ ।

त्यस्तै, सन् १९६० मा हराएको महिषासुर मर्दिनीको उक्त मूर्तिलाई गत २०२२ को मार्चमा न्युयोर्कको एउटा लिलामी घरले लिलामीमा राखेको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजार देखि १८ हजार अमेरिकी डलर राखिएको थियो । उक्त कुरा थाहा पाएपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो । सो मूर्ति १४ औंदेखि १८ शताब्दीको बीचमा बनेको अनुमान गरिएको छ । पुरातत्व विभागका अनुसार यी मूर्तिहरू जहाँ थियो त्यही पदस्थापन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update