भक्तपुर, साउन २३ । गएराति देखि परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीले खोला आसपासका क्षेत्रका घर राममन्दिर, पीठ बाराही क्षेत्र तथा सिद्धी स्मृति अस्पताल लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् । सिद्धी स्मृति अस्पताल जलमग्न हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् ।
चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका-१ स्थित बीरबहादुर केसीको घर पहिरोले भत्काएको हो । घरमाथिबाट ढिस्को खस्दा घर पूर्णरुपमा क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यस्तै, भारी वर्षाका कारण अनामनगर, सामाखुसी, कपन, गौरिघाट, गुह्येश्वरी लगायतका क्षेत्र डुबानमा परेको छ । काठमाडौँ उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपास भारी वर्षा भएको कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पनि पानीको बहाव बढेको छ । विष्णुमती, धोविखोला, मनोहरालगायतमा खोला जलसतह बढेको छ ।