काठमाडौं, साउन २३ । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको भाइरल रोग हो । यो रोग एउटा मानिसबाट अर्को मानिसमा सोझै सर्दैन । डेंगु एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।
पोथी जातको लामखुट्टेलाई फुल पार्नको लागि प्रचुर मात्रामा प्रोटिनको आवश्यक पर्ने हुनाले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । यो लामखुट्टेले घाम उदाएको २ घण्टापछि र अस्ताउनु भन्दा दुई घण्टा अघि विशेषगरी दिउँसो टोक्ने गर्दछ । विशेषगरी वर्षाको मौसममा यो रोगको प्रकोप बढ्छ ।
डेंगु रोगको लागि कुनै विशेष औषधि बनिसकेको छैन । त्यसैले डेंगुको संक्रमण भइसकेपछि अस्पताल जानुको विकल्प छैन तर समयमै उपचार पाए आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्यविदहरु बताउछन् । डेंगुको संक्रमण देशभर फैलिने क्रम बढेको छ । समयमा नै उपचार गरे यो रोग सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् ।
लक्षण
- यो रोगको मुख्य लक्षण एक्कासि ज्वरो आउनु हो । डेंगु ज्वरो आउँदा १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आउने गर्छ, २ देखि ७ दिनसम्म ज्वरो आउने
- शरीरमा आलस्यपन र थकानको महसुस हुने
- आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांशपेसीहरु दुख्ने
- शरीरमा बिमिरा आउने तथा कसैलाई चिलाउने पनि हुन्छ
- टाउको अधिक मात्रामा दुख्ने तथा वाकवाकी लाग्ने
कसरी सर्छ ?
डेंगु ज्वरोको रोगीले अरुलाई रगत चढाउँदा, अंग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ । एकपटक डेंगु भाइरस बोकेको लामखुट्टेले यसका प्रत्येक अण्डामा डेँगुको भाइरस सार्ने गर्दछ । प्रत्येक अण्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा डेँगुको भाइरस बोकेको हुन्छ । अर्को स्वस्थ व्यक्तिलाई टोकेमा उक्त व्यक्तिलाई यो रोगको संक्रमण हुन्छ ।
लक्षण देखिएमा के गर्ने ?
नजिकको चिकित्सकहरूसँग सल्लाह सुझाव लिने, सामान्य लक्षण देखिए घरमै बसेर उपचार गर्ने । घरमै पर्याप्त मात्रामा झोलिलो पदार्थ सेवन गर्ने । यदि चिकित्सकले अस्पतालमै भर्ना गर्ने सल्लाह दिएमा तुरुन्तै भर्ना हुने ।
रोकथाम तथा उपाय
- डेंगु विरुद्ध कुनै औषधी तथा खोप नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो
- सुत्दाखेरी अनिवार्य रुपमा झुलको प्रयोग गर्ने
- लामखुट्टे पानीमा बस्ने भएकोले घरको वरिपरि सकेसम्म खाल्डोहरु पुरिदिने, पानी जम्न नदिने
- झ्याल ढोकामा जाली लगाउने
- आफ्नो सुरक्षाको लागि लामखुट्टे भगाउने धुप बाल्ने, लोसन लगाउने तथा पुरा बाउला भएको लुगा लगाउँने
के खाने ?
प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने, घरमै बनाएको जुस प्रशस्त मात्रामा सेवन गर्ने । नरिवलको पानी, मेवाको पात, निमको पातको जुस, लसुन, सागसब्जी, किवी, अनार जस्ता फलफूलहरू सेवन गर्नु राम्रो हुन्छ ।