काठमाडौं, साउन २४ । नेकपा एमालेको विरोधपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक शुरु भएको ११ मिनेटमै स्थगित गरिएको हो।
बैठकको शुरुमै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेपछि सभामुखले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिएका थिए। थापाले मंगलबारको बैठकमा तथ्यलाई ढाकछोप गरेर तस्करीलाई संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको आरोप लगाए।
लामो समयपछि मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले १०० किलो सुन तस्करीको छानबिन लगायतका विषयमा स्पष्टीकरण दिएका थिए।
एमालेले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ। तर, गृहमन्त्रीले भने सिआइबीसँग अनुसन्धानको लागि ३५ दिनको समय रहेको उल्लेख गर्दै सिआइबीको अनुसन्धानमा दुर्नियत देखिए समिति गठनको विषयमा बहस गर्न सकिने धारणा राखेका थिए।
सूर्य थापाले धारणा राखेपछि सभामुखले सांसदहरूलाई बैठक चल्ने वातावरण बनाउन आग्रह गरे पनि एमाले सांसदहरू बेल घेर्न पुगे पछि बैठक स्थगित गरिएको हो। प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते शुक्रबार १ बजेलाई तोकिएको छ।