Kath khabar
इरानमा ५ जना सामूहिक बलात्कारीलाई फाँसी


              मारान्ड, साउन २४ ।  इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा ५ जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ। 

‘मे २०२२ मा मारान्ड सहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने ५ जनालाई मृत्युदण्ड दिइएको छ।’ न्यायपालिकाको मिजान अनलाइनले घोषणा गरेको छ। 

पूर्वी अजरबैजान प्रान्तमा भएको सामूहिक बलात्कारको ४ दिनपछि पक्राउ परेका ती व्यक्ति अन्य अपराधमा पनि संलग्न रहेको मिजानले बताएको छ। 

गत महिना पनि इरानले नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा उपचारको प्रलोभन देखाएर अर्धचेत अवस्थामा बलात्कार गरेको अभियोगमा ३ जनालाई मृत्युदण्ड दिएको थियो।

उनीहरूलाई सन् २०२१ को अन्त्यतिर दक्षिणी प्रान्त होर्मोज्गानमा यौन दुर्व्यवहारका थुप्रै घटनामा सहभागी रहेको अभियोगमा दोषी ठहर गरिएको मिजानले जनाएको छ।

मानव अधिकारवादी समूह एमनेस्टी इन्टरनेसनलका अनुसार इरानले एकाध बाहेक अन्य मुलुकको तुलनामा बढी मानिसलाई मृत्युदण्ड दिने गरेको छ। इरानमा गत वर्ष कम्तीमा ५८२ जनालाई फाँसी दिइएको थियो।

एमनेस्टीका अनुसार इरानका अधिकारीहरूले ‘सबै अपराधका लागि मृत्युदण्डको संख्या’मा उल्लेखनीय वृद्धि गरेका छन् र सन् २०२३ मा अहिलेसम्म कम्तीमा २८२ जनालाई मृत्युदण्ड दिइएको छ। यो संख्या गत वर्षको जुन महिनाको शुरुमा मृत्युदण्ड दिइएकाहरूको संख्या भन्दा झन्डै दोब्बर हो। 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update