काठमाडौं, साउन २६ । वर्षायाम सुरु भएलगत्तै आँखा पाक्ने रोगको संक्रमण बढी मात्रामा देखापर्ने गर्छ । यो वर्ष यो रोग तराई भेगबाट देखिन सुरु भएको यो रोग अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् ।
आँखाको फ्लू एउटा भाइरल इन्फेक्सन हो जसका कारण हाम्रो आँखा रातो हुन्छ र त्यसबाट तरल पदार्थ निस्कन थाल्छ । तरल पदार्थ निस्कने कारणले आँखा सुन्निन्छ र प्रष्ट देखिँदैन । आँखाको फ्लू अर्थात् कन्जक्टिभाइटिस एकदेखि दुई हप्तामा आफै निको हुने चिकित्सकहरु बताउँछन् ।
आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको सङ्क्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय सङ्क्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको चिकित्सकहरू बताउँछन् । विज्ञहरूका अनुसार कतिपयमा यो संक्रमणले दृष्टिमा पनि समस्या ल्याउने गरेको छ ।
यीबाहेक अरू कारण जस्तै आँखामा गलत औषधि प्रयोग, रासायनिक पदार्थसँगको संसर्ग, विषालु कीराको टोकाइ तथा सौन्दर्य प्रशाधन, अत्तर अन्य औषधिको साइड इफेक्टका कारण पनि आँखा पाक्ने समस्या हुने चिकित्सकहरु बताउँछन् ।
आँखा पाक्ने समस्याका अनेक कारण छन् । यही कारणले आँखा पाक्छ भन्ने छैन । तर पनि धुलो, धुवाँ, प्रदूषण, दूषित पानी तथा सरसफाइ कमीका कारण आँखा पाक्ने समस्या उत्पन्न भइरहेको चिकित्सकहरूले बताउँदै आएका छन् ।
आई फ्लु बाट कसरी बच्न सकिन्छ ?
आँखा पाक्ने रोग सरुवा भएकाले अरूलाई सर्न नदिन बिरामी तथा आफन्तले पनि विशेष सजगता अपनाउनुपर्छ । घरबाहिर हिँड्दा चस्माको प्रयोग अनिवार्य गर्नुपर्छ, बिरामीले प्रयोग गरेको रुमाल अन्यले प्रयोग गर्नुहुँदैन ।
बिरामीको नजिकै बसेर कुरा गर्दा हावाको माध्यमबाट रोग सर्ने भएकाले विशेष ध्यान दिनुपर्छ । सकेसम्म बिरामीको नजिक बसेर कुराकानी गर्नुहुँदैन । आँखा पाक्ने समस्या हुने बिरामीले पानी प्रशस्त पिउनुपर्छ । सीधै घाममा हेर्नुहुँदैन । गर्मी मौसममा सीधै घाममा हेर्दा पनि आँखा पाक्ने समस्या आउन सक्छ ।
कम्तीमा दिनको चारपटक हात, मुख र आँखा सफा गर्नुपर्छ । घरको कुनै व्यक्तिलाई आँखासम्बन्धी समस्या भए सबै परिवारले संयम अपनाउनुपर्छ ।