Kath khabar
एनआरएनएको विशेष अधिवेशन स्थगित



                    काठमाडौं, साउन २७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष अधिवेशन स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डको उपस्थितमा भएको एकतासम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै संघकी महासचिव जानुका गुरुङले विज्ञप्ति जारी गरेर विशेष अधिवेशन स्थगित भएको बताएकी छन् ।

संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन एकताको महाधिवेशन गर्नेगरी दुबै पक्षबीच प्रधानमन्त्रीको उपस्थितिमा सहमति भएको थियो । तर, राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनमा बद्री केसी समूहले सहमति कार्यान्वयन नगरेपछि एकता भाडिन पुगेको छ । “सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा गरिएको सहमति राष्ट्रिय समन्वय परिषद्हरुको महाधिवेशनमा कार्यान्वयन भएन ।

धेरै राष्ट्रिय समन्वय परिषद्हरुमा हाम्रा सदस्यहरुलाई एमआईएस प्रणालीमा आवद्ध हुन दिइएन । समय एवं नियमावलीको बहानामा उक्त प्रणालीमा आवद्ध हुन नपाउँदा उम्मेदवारी दिने र मतदान गर्ने प्रक्रियाबाट पूर्णरुपमा योजनावद्धरुपमा अलग्याउन खोजिएको साथीहरुले महसुस गर्नुभएको छ” महासचिव गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

केसी समूहको यस्ता व्यवहारले संघको एकताको ढोका बन्द हुन पुगेको समेत गुरुङले बताएकी छन् । यस्तो अवस्थामा अगष्ट १२ अर्थात आज हुने भनिएको विशेष साधारणसभामा एनसीसीका प्रतिनिधि विना आफूहरु सहभागी हुन नसक्ने विज्ञप्तिमा भनिएको छ । केसी समूहले योजनावद्ध रुपमा अर्को पक्षका सदस्यहरुलाई सहभागी हुन रोकेपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको १६ औं बैठकले विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

महासचिव गुरुङले एनसीसीहरुको एकीकरण, अन्तर्राष्ट्रिय महाधिवेशनको स्वरुपलगायतका विषयमा केसी समूहले स्पष्ट धारणा नआएकोले एकीकरणको ढोका बन्द भएको बताएकी छन् । “यतिमात्र होइन हामीसँग रहेका, बनेका, राष्ट्रिय महाधिवेशन भएका र हुने तयारीमा रहेका देशका एनसीसीहरुको एकीकरण, अन्तर्राष्ट्रिय महाधिवेशनको स्वरुपलगायतका विषयमा स्पष्ट धारणा नआएको कारण एकीकरणको ढोका बन्द भएको छ ।

समय गुज्रीसक्यो तर यस विषयमा स्पष्ट धारणा आउने कुनै सम्भावना पनि देखिएन र केवल हामीलाई समय लम्ब्याएर राष्ट्रिय समन्वय परिषद्हरुमा जस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद्मा पनि अक्टोबरसम्म लगेर भुलाउने योजना देखिएकोले त्यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदछौँ” विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update