Kath khabar
आज साउनको अन्तिम सोमबार, पशुपति लगायतका शिवालयहरुमा भक्तजनको भीड

 

                 काठमाडौं, साउन २९ । साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

आज सौरमास अनुसार अन्तिम सोमबार भक्तजनहरू बिहानैदेखि दर्शनका लागि आउने हुँदा बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको छ । पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिमा जस्तै व्यवस्था गरिएको कोषले जनाएको छ । भक्तजन जुन ढोकाबाट दर्शनका लागि प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने व्यवस्था गरिएको छ।

यसवर्ष सौरमास अनुसार साउनमा पाँच सोमबार परेका छन् । साउने सोमबारको आज अन्तिम दिन भए पनि यसपछि चन्द्रमास अनुसार साउनका सोमबार बाँकी छन् । यसवर्ष साउनमा अधिकमास (मलमास) परेकाले व्रत गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबिच मतान्तर देखिएको छ ।

एकथरी धर्मशास्त्रीले प्रत्येक वर्ष सौरमास अनुसार साउन महिनाको सोमबार गरिने व्रत भएकाले यो नित्यकर्ममा पर्ने तर्कसहित व्रत, उद्यापन गर्न हुने तर्क गरेका छन् । अर्काथरीले अधिकमासमा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले चान्द्रमास अनुसारको साउनमा मात्र व्रत र उद्यापन गर्नुपर्ने तर्क राखेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उक्त विषयमा आधिकारिक निर्णय नगरिएको जनाउँदै कुल, परम्परा अनुसार नै बर्तालुले साउने सोमबारको व्रत गरेका बताएको छ ।

साउनको सोमबार आज पशुपतिनाथमा बोल बम यात्रीको पनि भीड लागेको छ । सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजन आइतबार साँझ नै सुन्दिजल पुगेका थिए । ती भक्तजनले आज बिहान स्नान गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाएका हुन् । बोल बम यात्रीलाई जल चढाउन पशुपतिनाथ मन्दिरमा एउटा ढोकाको व्यवस्था गरिएको छ ।

पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ। यसैगरी राजधानी बाहिरका ठुलासाना शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।

साउनमा शिवालयमा शुद्धजलसहित पूजा, आराधना गरेमा मनोकामना पूरा हुने शास्त्रीय मान्यता छ । साउनको सोमबार पारेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने भक्तजन पनि धेरै हुने कोषले जनाएको छ । कोषका अनुसार साउने सोमबारमा रु सात हजार पाँच सय बढीको मात्र विशेष पूजा गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update