काठमाडौं, साउन २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको 'ब्रेक शु' भित्रको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा छुट्याउन थालिएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली, राजस्व अनुसन्धान विभाग र सञ्चारमाध्यमको उपस्थितिमा ब्रेक शु बाट सुन छुट्याएर जाख्ने काम भइरहेको हो । सीआईबीले बरामद सुन जोख्न पत्र लेखेपछि आज सोमवार दिउँसोदेखि सुन छुट्याउने प्रक्रिया थालिएको महाशाखाले जनाएको छ ।
राजस्वले बरामद गरेको ब्रेक शु सहितको सुनको तौल १५५ रहेको छ । उक्त सुन छुट्याइ सकेपछि सुन गालेर जोख्ने काम हुनेछ । त्यसपछि गुणस्तर जाँच हुनेछ । यि सबै कार्य राजस्व, सीआईबी, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा हुनेछ ।
राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो । उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।