Kath khabar
मत्स्यनारायण मेला आजबाट सकिँदै

 

                काठमाडौं, साउन ३१ । तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममास वा अधिकमासमा लाग्ने एक महिने मत्स्यनारायण मेला आजबाट सकिँदैछ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-९ स्थित मत्स्यनारायण मन्दिरमा साउन महिनाभरि लागेको मत्स्यनारायण मेलाको औपचारिक समापन भने भदौ १ गते हुनेछ ।

बुधबारबाटै मलमास पनि सकिन्छ । मेला अवधिभर धेरै भक्तजनले मत्स्यनारायण मन्दिरमा पूजा आराधना र दर्शन गरेका छन् । दिन आज पनि मन्दिरमा बिहानैबाट दर्शनार्थी भक्तजनको भीड लागेको छ । पुरुषोत्तममास अर्थात् मलमासमा अरु कुनै शुभकार्य तथा देवकार्य गर्ने गरिँदैन ।

तर, मलमास अवधिभर कीर्तिपुरबाट चार किलोमिटर मात्रै दक्षिणमा पर्ने मत्स्यनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। पृथ्वीको सुरुवात सँगै विष्णु र नारायणले सोही स्थानमा रहेको कुण्डमा मत्स्य रूप धारणपछि दिव्यस्वरुपको दर्शन दिएको मत्स्यपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ ।

मत्स्यनारायणलाई गच्छेनारायण पनि भनिने प्रचलन रहेको पाइन्छ । चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् र यस वर्ष पनि हजारौँको संख्यामा भक्तजनहरू मत्स्यनारायण मन्दिरमा नारायणको पूजा आराधना र दर्शन गर्न पुगेका छन् ।

मत्स्यनारायण मन्दिरमा सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ । विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । मेलामा गई दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक मान्यता रहिआएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update