Kath khabar
चितवनको टिकौली जंगलमा शव बोकेको गाडीसहित आठ सवारीसाधन ठोक्किए,  १९ जना घाइते

 

             चितवन, साउन ३१ । चितवनको टिकौली जंगलमा ८ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा आठवटा सवारी दुर्घटनामा परेका हुन् । अक्सफोर्ड कलेजको बससहित शव बोकेको गाडी, मोटरसाइकल र स्कुटरहरु एकआपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो ।

सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएको थियो ।

सबै सवारी तीव्र गतिमा भएकाले एकैपटक धेरै सवारी ठोक्किएको बताइएको छ । दुर्घटनास्थलबाट १९ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बस चालक नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update