काठमाडौं, साउन ३१ । नेप्से पुन घटेको छ । अघिल्लो दिन ३१ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार नेप्से २० दशमलव ३१ अंकले घटेर दुई हजार २५ दशमलव १२ अंकमा सिमित भएको छ ।
यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ५४ अंकले घटेर तीन सय ८६ दशमलव ३० अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ६९ वटा कम्पनीहरूको ४५ हजार एक सय ६७ पटकको कारोबारमा ४८ लाख ३८ हजार एक सय छ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज एक अर्ब ६७ करोड ९९ लाख ८० हजार छ सय २३ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष्, अन्य ट्रेडिङ सहितका सबै समुहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सनराइज फोकस इक्विटी फण्ड, मैलुङ खोला जलविद्युत कम्पनी, मल्टिपर्पोज फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने माउन्टेन हाइड्रो नेपाल लिमिटेड, एनआईबिएल ग्रोथ फण्ड, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, सोल्टी होटल लिमिटेड आदि परेका छन् ।