काठमाडौं, असार ६ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष (२०७७/७८) को वैशाख मसान्तसम्ममा वैदेशिक सहयातामा ३५.३ प्रतिशतले वृद्धि भई दुई खर्ब दुई अर्ब २८ करोड रुपैयाँ पुगेको बताएको छ।
आर्थिक वर्ष २०७७/७८ को वैशाख महिनासम्म वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्ष (२०७६/७७) को सोहि अवधिको तुलनामा एक खर्ब ४९ अर्ब ५० करोडको तुलनामा ३५.३ प्रतिशतले वृद्धि भई दुई खर्ब दुई अर्ब २८ करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। उक्त प्रतिवद्धतामध्ये अनुदान सहायता १०.९ प्रतिशत र ऋण सहायता ८९.१ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात क्रमशः १४.३ प्रतिशत र ८५.७ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको वैशाख महिनासम्मको वैदेशिक सहायता प्रतिवद्धतामा द्धिपक्षीय र बहुपक्षीय सहायताको हिस्सा क्रमशः ४.७ प्रतिशत र ९५.३ प्रतिशत रहेको छ। कुल वैदेशिक सहायता प्रतिवद्धतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७ प्रतिशत, उर्जा क्षेत्रमा २२.९ प्रतिशत र बजेटरी सहायताको रुपमा ११.७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको बैशाखसम्म १४ अर्ब ३३ करोड अनुदान र ६७ अर्ब १० करोड ऋण गरी कुल ८१ अर्ब ४३ करोड वैदेशिक सहायता प्राप्त भएको छ।
आन्तरिक ऋण परिचालन
चालु आर्थिक वर्षको वैशाखसम्म एक खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो परिचालन एक खर्ब ३५ अर्ब रहेको थियो ।