Kath khabar
बौद्धमार्गी नेवार समुदायले मनाउने गुँला पर्व सुरु, किन मनाइन्छ यो पर्व ?

 

                   काठमाडौं, साउन ३२ । नेवाः समुदायले मनाउने गुँला पर्व सुरु भएको छ । नेवाः समुदायमा पनि विशेषतः बौद्ध धर्मावलम्बीहरुले मनाउने यो पर्व करिब १ महिनासम्म चल्छ । 

नेवार समुदायले चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा-एक महिनासम्म तोकिएको नियम पालनाका साथै राम्रोसँग धर्म–कर्म गरेर मनाइने यो पर्व आजदेखि विधिवत् सुरु भएको हो । यस पर्वका अवसरमा जुन नियमको पालनाले जीवनमा राम्रो हुन्छ त्यसैलाई पालना गरिन्छ ।

नेपाल संवत् अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुन गर्ने अर्थात् राम्रो एवं गुनिलो काम गरेर अरुको उपकारसमेत गर्ने कामलाई जनाइन्छ । जुन समयमा बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेर दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न जाने गर्छन् । यो पर्व काठमाडौँ उपत्यकामा विशेषरुपमा मनाइन्छ ।

गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउनुहुन्छ । यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ ।

“यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ”, उहाँले भन्नुभयो । पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, काम मिथ्याचार नगर्ने अर्थात् श्रीमान् र श्रीमतीबीच मात्र शारीरिक सम्पर्क गर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्छन् ।

पञ्चशीलमा तीन शील थपेपछि अष्टशील हुन्छ । अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने र समयमै भोजन गर्ने यसलाई समेत थपेर अष्टशील भनिन्छ । यसमा दुई कुरा थपेपछि दशशील हुन्छ । आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने यतिसम्म नियम पालना गर्नुलाई दशशील भनिने पनि राज गुरुजु बज्राचार्यले जानकारी दिनुभयो ।

यो महिनामा क्षमताअनुसार भित्री मनदेखि दान दिने गरिन्छ । यो महिनाभर स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने गर्छ । राजधानी सहरका विभिन्न भागबाट गुँला बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजनको प्रत्येक वर्ष यो महिनामा भीड लाग्छ । वर्षभर निधन भएका व्यक्तिको नामबाट श्रृङ्गभेदी अर्थात् भैँसीको सिङबाट बनेको बाजा बजाएर स्वयम्भू पुग्ने भक्तजन पनि धेरै हुन्छन् ।

काठमाडौँ महानगरपालिका वडा नं ७ चाबहिलका स्थानीय राजेन्द्र डङ्गोल धिमे बाजा, बाँसुरी, पछिमा (ढोलक जस्तै बाजा) बजाएर मन्दिर घुमी गुँला पर्व मनाउने गरिएको सुनाउनुहुन्छ । चाबहिलमा चन्द्रविनायक पर्खालभित्रबाट घुम्ने गरिन्छ । झरीले रोगव्याध लगायतको आक्रमण गर्ने भएकाले मन्दिर घुमी प्रार्थना गर्दा शरीर स्वस्थ हुने गरेको उहाँको अनुभव छ । यो पर्वका अवसरमा मनाइने केपु बाजाको पूजा आराधना गर्ने परम्परा भने पछिल्लो समय जनशक्ति अभावले लोप हुन थालेको छ ।

चाबहिल क्षेत्रमा घरघरमा गरिने यो परम्परालाई हाल यहाँको नाट्येश्वरमा बाजा पूजा गरी निरन्तरता दिइएको छ । चाबहिलबाट पनि विगत वर्षमा महिनाभरमा एक दिन भए पनि फुर्सद मिलाएर विभिन्न थरी बाजा बजाउँदै स्वयम्भू घुम्न जाने गरिन्छ ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update