Kath khabar
जहाज चार्टर्ड गरेर आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत

 

                काठमाडौं, भदौ १ । बङ्गलादेशबाट जहाज चार्टर्ड गरेर पहिलोपटक एक सय ४५ जना पर्यटक नेपाल आएका छन् । शुक्रबार नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको छ ।

आजै साँझ हिमालय एयरलाइन्सबाट थप बङ्गलादेशी पर्यटक नेपाल आउने कार्यक्रम छ । आज र भोलि गरेर सात सय पर्यटक नेपाल आउने बङ्गलादेशी पर्यटकको ‘ग्राउन्डह्यान्डलिङ’को जिम्मा लिएको सम्राट टुर एन्ड ट्राभल्स प्रालिले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सिएन पाण्डेका अनुसार बङ्गलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो । बङ्गलादेशको राजधानी ढाकामा रहेको माउन्टेन क्लब टुरमार्फत बङ्गलादेशी पर्यटक नेपाल आएका हुन ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले ठूलो सङ्ख्यामा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकको प्रचारप्रसारबाट थप पर्यटक आकर्षण गर्न मद्दत पुग्ने उल्लेख गरे ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update