Kath khabar
ललितपुरको टिकाथलीदेखि रत्नपार्क, कलंकी र नागढुङ्गासम्म चन्द्रागिरीको बस सेवा शुरु


              ललितपुर,  भदौ ३ । सार्वजनिक यातायात सेवामा वडावासीको सरल र सहज पहुँचको माग पुरा गर्दै महालक्ष्मी नगरपालिका वडा नं ५ ले चन्द्रागिरी यातायात सेवा प्रालिसँग सहकार्य गरी शनिबारदेखि सो वडाको गोदावरी पुलदेखि रत्नपार्क हुँदै कलंकी र नागढुङ्गासम्म सार्वजनिक बस सेवा शुरु गरेको छ ।

शनिबारदेखि शुरु भएको चन्द्रागिरी यातायात सेवा प्रालिमा आवद्ध दैनिक ३० वटा यात्रुवाहक बस टिकाथलीको गोदावरी पुल (अन्तिम बिसौनी) हुँदै इमाडोलको भगवती मन्दिर, जडिबुटी, कोटेश्वर, बानेश्वर, माइतीघर, रत्नपार्क, त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै नागढुङ्गासम्म आवत जावत गर्ने छ । ती बसहरु यात्रुको चाप हेरि हरेक ५ देखि १० मिनेटमा छुट्ने बताइएको छ ।

सो वडाका वडाध्यक्ष एवम् अधिवक्ता कपिल केसीले शनिबार अपरान्हदेखि टिकाथली गोदावरी पुलस्थित अन्तिम बस बिसौनीमा आयोजित एक कार्यक्रममा रिबन काटेर सो सार्वजनिक यातायात सेवाको शुभारम्भ गरेका थिए । हिजो शुक्रबार मात्रै चन्द्रागिरी यातायात सेवा प्रालिका अध्यक्ष गौतम श्रेष्ठ लगायत पदाधिकारी र महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष एवम् पदाधिकारीबीच सो वडाबाट नागढुङ्गासम्म सार्वजनिक बस सेवा सञ्चालन गर्ने विषयमा दुईपक्षीय लिखित समझदारी भएको वडा सदस्य निरोज महर्जनले बताए ।

यसअघि सो मार्गमा सार्वजनिक बस सेवा सञ्चालन गर्दै आएको शुभकामना यातायात सेवाले साउन १५ देखि सो मार्गमा बस सेवा सञ्चालन बन्द गरेपछि अप्ठेरोमा परेका स्थानीय बासिन्दाको मागलाई सम्बोधन गर्दै चन्द्रागिरी यातायात सेवा प्रालिसँग सहकार्य गरि बस सेवा सञ्चालन गरेको वडाध्यक्ष कपिल केसीले बताए ।

चन्द्रागिरी यातायात सेवा प्रालिका अध्यक्ष गौतम श्रेष्ठले सो समितिमा आवद्ध बसले सबै यात्रुलाई समान व्यवहार गर्दै यात्रुलाई कुनै गुनासो हुन नदिई निरन्तर सेवा दिने बचनवद्धता व्यक्त गरे । त्यस अवसरमा लालीगुराँस महिला सशक्तिकरण समाजकी अध्यक्ष ललिता खनियाले सार्वजनिक यातायात सेवाले स्थानीय वासिन्दालाई विभिन्न ठाउँमा आउन जान सहज हुने बताइन् ।

सार्वजनिक यातायात सेवा शुभारम्भ गरेलगत्तै वडाध्यक्ष तथा वडाका पदाधिकारी, सो यातायात सेवा प्रालिका अध्यक्ष गौतम श्रेष्ठ तथा अरु पदाधिकारीहरू र स्थानीयवासीहरूले गोदावरी पुलदेखि इमाडोलको भगवती मन्दिरसम्म निःशुल्क बसयात्रा गरि सोही ठाउँमा फर्केका थिए । गत बैशाखदेखि नेपाल यातायातको सार्वजनिक बस सेवा महालक्ष्मी नगरपालिका वडा नं ५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्याङ्की नजिक मोति मार्गदेखि कोटेश्वर, पुतलीसडक, नक्साल, महाराजगञ्ज हुँदै चाबहिलसम्म चल्न शुरु भइसकेको छ ।

यी दुवै सार्वजनिक यातायात सेवा सञ्चालन भएपछि अब टिकाथली, इमाडोल र बालकोटका वासिन्दालाई समेत निकै सहज हुने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update