काठमाडौं, भदौ ३ । अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को उपाधि क्रमश सिक्किमका प्रीतम राई र थाइल्याण्डकी खुसी कार्कीले जितेका छन् ।
इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को उपाधि क्रमश सिक्किमका प्रीतम राई र थाइल्याण्डकी खुसी कार्कीले जितेका छन् ।
उपाधि जितेसँगै दुबै जनाले नगद १-१ करोड रुपैयाँ पुरस्कार प्राप्त गरे । ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले उनीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । 'मेरो भ्वाइस युनिर्भस' को फस्ट रनरअप शिशिर ठटाल (भारत) र 'मेरो डान्स युनिर्भस' को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) भए ।
यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो । फाउण्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको थियो । कार्यक्रममा सभामुख देवराज घिमिरेलगायत नेपाल सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ भए पनि नेपाली मन, भाव, संस्कृति र नेपाली भाषाप्रति गर्व गर्नुपर्ने बताए । “जसरी कला, साहित्य र संस्कृति, बढी भावना र संवेदनासित हुन्छ र धेरै शक्तिशाली हुन्छ, त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापीरूपमा स्थापित गर्छ, यो ग्रान्ड फिनाले कार्यक्रम हेर्दै गर्दा प्रस्तुति सुन्दै गर्दा गर्व लागेको छ” उनले भने ।