Kath khabar
'ब्रेक शु' सुन प्रकरण : पक्राउ परेका २ चिनियाँ नागरिकसँग भारतीय आधारकार्ड फेला

 

                काठमाडौं, भदौ ३ ।  हङकङबाट मोटरसाइकलमा राख्ने 'ब्रेक शु' मा लुकाएर ल्याइएको ६० किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेका मध्ये २ जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिनुभएको छ ।

३ जना चिनियाँ नागरिकसँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी भएको नागरिकता र १ जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता फेला परेको पनि उहाँले बताउनुभयो ।

बिहीवार राति थप २ जना चिनियाँ नागरिक पक्राउ परेपछि यो प्रकरणमा पक्राउ पर्ने चिनियाँ नागरिकको सङ्ख्या ७ पुगेको छ । सुन तस्करी प्रकरणमा अहिलेसम्म २३ जनालाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुन सहितको १५५ किलो रहेको ब्रेक शु बरामद गरेको थियो । २ हप्ताको अनुसन्धान पछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update