काठमाडौं, भदौ ३ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ । लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने ‘आइसिटी अवार्ड’ मा यस वर्ष १३ विधा सहित सातै प्रदेशका स्टार्टअपहरुलाई सम्मान गर्नेगरी आवेदन खुल्ला गरिएको हो ।
यस वर्ष आइटी प्रोफेसनलहरुलाई लक्षित गरेर प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२३ विधा थप गरिएको छ । अवार्डमा स्टार्टअप तथा इनोभेसन सम्वन्धी विधाहरुमा स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन् ।
यसैगरी व्यक्तिगत उपलब्धीको आधारमा प्रदान गरिने विधाहरुमा प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, नेपाली डायस्पोरा र वुमन आइकन आइसिटी अवार्ड विधाहरु समावेश छन् । डिजिटल रुपान्तरणमा अभ्यासरत संस्थाहरूलाई प्रदान गर्ने अवार्ड विधाहरुमा डिजिटल एजुकेसन पब्लिक र प्राइभेट सेक्टर, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ रहेका छन् । यसैगरी सार्क देशहरुका स्टार्टअप हरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३ विधामा पनि डोमिनेसन खुल्ला जारी छ ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिष्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ । यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन’ पनि सुरु गरेको छ । सातै प्रदेश र काठमाडौंमा प्रि-इभेन्टको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यसैगरी स्टार्टअप, आइडिया र इनोभेसनको पिचिङ सहित छनौट प्रकृयालाई कान्तिपुर टेलिभिजन मार्फत पनि विशेष एपिसोड प्रशारण गरिने आयोजकले जनाएको छ ।
आइसिटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ । भदौ तेस्रो हप्तादेखि सञ्चालन हुने अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेसन सेसनहरु सञ्चालन हुनेछन् । जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरु सहित १४ जना विज्ञ रहेका छन् भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यक्तिहरू रहेका छन् । साउथ एसिया स्टार्टअप अवार्डको लागि भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका देशहरूबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रकृया सञ्चालन गरिने छ । आवेदन दर्ताको लागि आधिकारिक वेबसाइटमार्फत विवरण बुझाउन सकिन्छ ।
आफू स्वंयम् वा अन्य कोहीले सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाको सम्पूर्ण विवरण उल्लेख गरेर नोमिनेशन दर्ता गर्न सकिनेछ । स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टार इनोभेसन विधाको लागि भदौ १५ र अन्यको लागि भदौ ३१ गतेसम्म नोमिनेसन बुझाउन सकिने आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
यि हुन् आइसिटी अवार्ड २०२३ का १३ विधाहरु
आइसिटी अवार्ड २०२३ मा १३ विधामा अनलाइन नोमिनेशन खुल्ला गरिएको छ । नोमिनेशन दर्ता गर्न आधिकारिक वेबसाइट http://apply.ictaward.org मा गएर लगइन गरेर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक विवरण उल्लेख गरी अनलाइन फारम बुझाउनुपर्नेछ । नोमिनेसनको अन्तिम मिति यही साउन ३१ गते रहेको छ ।
१. स्टार्टअप आइसिटी अवार्ड
आइटी प्रोडक्ट, सर्भिस तथा इनोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
२. प्रोडक्ट आइसिटी अवार्ड
आइसिटी प्रोडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आइटी तथा इनोभेटिभ प्रोडक्टलाई नोमिनेसन दर्ता गराउन सकिनेछ । वि.स २०७९ सालमा सार्वजनिक भएका आइटी प्रोडक्टहरूलाई लिएर यस विधामा नोमिनेसन दर्ता गर्न सकिन्छ ।
३. राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड
राइजिङ स्टार इनोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाहरुको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इनोभेसन तथा प्रोडक्टहरूलाई लिएर नोमिनेसन दर्ता गर्न सकिनेछ ।
४. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड
यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड विधामा आइसिटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदान, विशेष कामको आधारमा आइसिटी प्रोफेसनलहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
५. पायोनियर आइसिटी अवार्ड
यो अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाई प्रदान गरिन्छ । यस विधामा नोमिनेसन दर्ता गर्न यस क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव आवश्यक पर्दछ ।
६. नेपाली डायस्पोरा आइसिटी अवार्ड
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आइसिटीको माध्यमबाट देश र यस क्षेत्रमा पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेसन दर्ता गर्न सकिनेछ ।
७. इन्टरप्रेनर आइसिटी अवार्ड
इन्टरप्रेनर आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । नोमिनेसनको लागि आइसिटी उद्यमीको रुपमा कम्तिमा ७ वर्षको अनुभव आवश्यक रहेको छ ।
८. वुमन आइकन आइसिटी अवार्ड
वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणीय काम गर्नुभएको महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नुहुनेछ ।
९. डिजिटल एजुकेसन आइसिटी अवार्ड (पल्लिक सेक्टर)
डिजिटल एजुकेसन आइसिटी अवार्ड, आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइ तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
१०. डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइवेट सेक्टर)
डिजिटल एजुकेसन आइसिटी अवार्ड आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाइ तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका निजी शैक्षिक संस्थाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
११. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
१२. डिजिटल सर्भिसेस आइसिटी अवार्ड
यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइन मार्फत सेवा दिइरहेका कम्पनीहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् । यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन् ।
१३. साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड
यस विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरुले सहभागिता जनाउन सक्नेछन् । ५ वर्षसम्मका स्टार्टअपहरुले यस विधामा नोमिनेसन दर्ता गर्न सकिनेछ ।