काठमाडौं, भदौ ३ । भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर (शुल्क) लगाएको छ । प्याजको मूल्य घटाउन भारतले निर्यातमा कर लगाउने निर्णय गरेको हो । छिमेकी मुलुक भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले शनिबार प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो।
यो कर शुल्क २१ डिसेम्बर २०२३ सम्म लागू हुने बताइएको छ। भारतमा गत महिनामात्रै प्याजको मूल्य २० प्रतिशतले बढेको थियो। भारतमा प्याज किलोको २४ भारु परिरहेको छ। भारतमा अगस्ट महिनामा विगत एक दशक यताकै सुख्खायाम लागेकोले पनि उत्पादनमा कटौती भइरहेको छ। मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारतीय सरकारले यस्तो निर्णय गरेको जनाइएको छ।
अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीमा भारतीय प्याजको मूल्य प्रतिकिलो ६१ रुपैयाँसम्म छ । नेपालले पनि चालू वर्षको बजेटमार्फत आलुप्याजमा भ्याट लगाएको छ । व्यवसायीहरुले यसको विरोध गरिरहेको बेला अहिले भारतले नै निर्यातमा कडाइ गरेको छ ।