Kath khabar
रूसी अन्तरिक्षयान लुना–२५ चन्द्रमाको सतहमा ठोक्किएर दुर्घटनाग्रस्त

 

                काठमाडौं, भदौ ३ ।  रुसको लुना-२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ । लगभग ५० वर्षमा रुसको पहिलो चन्द्रयान मिसन लुना-२५ प्रोब चन्द्रमामा प्रि-ल्याण्डिङ युद्धाभ्यासका क्रममा दुर्घटनाग्रस्त भएको रुसी अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

शनिबार दिउँसो २ः५७ बजे ९११ः५७ लुना-२५ सँगको सञ्चार हराएको थियो । प्रारम्भिक निष्कर्षका अनुसार, ल्यान्डर चन्द्रमाको सतहसँग ठोक्किएपछि दुर्घटना भएको रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले बताएको छ ।

पछिल्लो ४७ वर्षमा रुसको यो पहिलो चन्द्रयान थियो । एक दिनअघि रोस्कोसमोसले लुना-२५ लाई प्रि-ल्याण्डिङ अर्बिटमा पठाउन समस्या भएको बताएको थियो । रोस्कोसमोसले आइतबार एक विज्ञप्तिमा अन्तरिक्ष यान अप्रत्याशित कक्षमा गएर चन्द्रमाको सतहमा ठोक्किएको बताए।

अगस्ट २१ मा लुना–२५ चन्द्रमामा अवतरण गर्ने भनिएको थियो । अपरेसनका क्रममा तोकिएको मापदण्डभित्र युद्धाभ्यास गर्न नसक्दा असामान्य अवस्था सिर्जना भएको थियो । रुसको यो अन्तरिक्ष मिसन असफल भएपछि उसको आशामा धक्का लागेको छ । रुसले सन् १९५७ मा पृथ्वीको कक्षबाहिर स्पुतनिक-१ प्रक्षेपण गरेको थियो ।

भारतको चन्द्रयान–३ र रुसको लुना–२५ बीच चन्द्रमाको दक्षिणी ध्रुवमा पहिले पुग्ने दौड चलिरहेको थियो । भारतको चन्द्रयान अगस्ट २३ मा साँझ ६:०४ बजे अवतरण गर्नुपर्नेछ । चन्द्रमाको दक्षिणी ध्रुव यसको सम्भावित जलस्रोत र अद्भुत भूवैज्ञानिक विशेषताका कारण वैज्ञानिकहरूको चासोको केन्द्र बनेको छ। ISRO ले चन्द्रयान-3 को अवतरण धेरै प्लेटफर्महरूमा प्रत्यक्ष प्रसारण गरिने पनि बताएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update