Kath khabar
आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइँदै

 

                   काठमाडौं, भदौ ४ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, समुद्रमन्थन गर्दा होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।

यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ । समग्र पाताललाई नै नागलोक भनिएको पाईन्छ । पाताललोकमा बसेर विषाणु चिजलाई ग्रहण गरी समस्त पृथ्वीको रक्षा गर्ने भएकोले पनि नागलाई रक्षकको रुपमा पूजा गरिन्छ । श्रीमद्भागवत कथाको सुरुआत र अन्त्य पनि नागकै प्रसंगबाट गरिएको छ, महाभारतमा पनि नागको प्रसंग निकै धेरै ठाउँमा आउँछ । वास्तु तथा घरपूजा गर्दा पनि नागको पूजा गरिन्छ ।

नागपञ्चमी पूजा र विधि
प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही,घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको तथा चट्याङ, भूकम्प आदिको भय हुँदैन । नागपञ्चमीका दिन यसरी विधि विधानले नागको पूजा गर्दा धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र अन्य दैविक, भौतिक र प्राकृतिक आपतविपत र अनिष्टहरू नाश हुनुका साथै “कालसर्प” आदि गरिएको योग पनि नष्ट हुन्छ ।

प्रार्थना मन्त्र
“ आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारीणि।
एह्येहि मनसे देवी नागमातर्नमस्तुते ।।
अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः ।
कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।। “

भावार्थ : अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक, शंखचूड, यी आठ नागसहित आस्तिक मुनि र जगत्लाई आनन्द दिने नागमाता मनसादेवीलाई नमस्कार गर्दछु । अस्तु ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update