Kath khabar
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

 

                    काठमाडौं, भदौ ४ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ।

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो । अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्नेछन् । संसदीय सुनुवाइबाट अनुमोदन भइसकेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएपछि साउन १८ गते संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो। श्रेष्ठ हाल सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हुन् । २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त श्रेष्ठ सरकारी सेवामै लामो समय रहेर सर्वोच्चमा पुगेका हुन्।

सन् १९५९ अक्टोबरमा सिलगडी डोटीमा जन्मिएका श्रेष्ठ सन् १९८२ मा शाखा अधिकृतको अस्थायी नियुक्तिसहित कानुन तथा न्याय मन्त्रालयमा आबद्ध भएका थिए।

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update