Kath khabar
अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी समुद्री आँधी, २ करोड भन्दा धेरै मानिस जोखिममा

 

           क्यालिफोर्निया, भदौ ४ ।  मेक्सिकोमा पर्ने प्रशान्त महासागरको तटमा भीषण हावाहुरी र बाढी निम्त्याएको हिलरी नामक समुद्री आँधी अमेरिकी राज्य क्यालिफोर्निया पुगेको छ । यो आँधी उत्तरतर्फ सर्दै जाँदा कमजोर हुने ठानिएको छ । तर  क्यालिफोर्नियामा भने यसलाई ८४ वर्षयताकै पहिलो समुद्री आँधी भएको जनाएको छ ।  

यसअघि सन् १९३९ मा दक्षिणी क्यालिफोर्नियाको लङ बीचमा यस्तै आँधी आएको थियो । क्यालिफोर्निया सरकारले दशकौँ पछि निकै भयावह आँधीको चपेटामा पर्न लागेको भन्दै सतर्कता अपनाउन भनेको छ । मेक्सिकोमा यही आँधीले व्यापक क्षति पुर्‍याइसकेको छ ।

तीव्र हावा सहित ठूलो वर्षा भएका कारण बाढी र पहिरोले मेक्सिकोलाई अस्तव्यस्त बनाएको छ । आँधीले प्रभावितहरुको उद्धार तथा पुनस्स्थापनाका लागि मेक्सिकोमा १८ हजार सैनिकलाई परिचालन गरिएको खबरमा उल्लेख छ ।

विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण प्रभावित भएको बताएका छन् । हिलरी आँधीले मेक्सिको र अमेरिकामा जनधनको क्षति गर्ने विज्ञले चेतावनी दिएका छन् । अमेरिकाको दक्षिण पश्चिमी क्षेत्रमा २ करोड ६० लाख मानिस बाढीको जोखिमको चपेटामा परेका  छन् ।

श्रोत:बीबीसी

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update