भक्तपुर, भदौ ४ । भक्तपुर बालसुधार गृहबाट करिब १५० बालबालिका भागेका छन् । विभिन्न अपराधमा संलग्न भई सानोठिमीस्थित युसेफको बालसुधार गृहमा रहेका १५० जना बालबालिका फरार भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।
सोमबार दिउँसो २ बजे ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गरेर मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट उनीहरू सुधार गृहको ढोका फोडेर भागेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सीडीओ खगेन्द्रप्रसाद रिजालले बताए ।
सुधारगृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि प्रहरीले गोली चलाएको थियो । सो आक्रमणमा तीन कैदी र केही प्रहरी घाइते भएको बताइएको छ । घाइते बन्दीमध्ये एक जना गम्भीर भएको र दुई जनाको स्थिति सामान्य भएको जनाइएको छ। घाइतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ।
फरारहरुको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए । आइतबार अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानविन समिति गठन गरी घटनाको अनुसन्धान तथा छानविन शुरु गरिसकेको छ ।
प्रदर्शनकारीलाई साथ दिएका सुधार गृहका बन्दी मध्य केही बालक र ३२ जना किशोरी मात्र रहेका छन्। उक्त सुधार गृहमा २५६ जना थिए।