Kath khabar
लामखुट्टेका लार्भा नष्ट गर्न  नेपालमै पहिलोपटक बायो लार्भासिद छर्कँदै काठमाडौं महानगर


                    काठमाडौं, भदौ ५ । महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा नष्ट’ अभियानलाई तीव्र बनाउने भएको छ। महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलोपटक बायो लार्भासिद (जैविक औषधि) छर्किने भएको छ।

यसका लागि ६४ जना नगर प्रहरीलाई खटाइएको छ । उनीहरु वायो लार्भिसाइडसहित हरेक वडामा जानेछन् । पानी जमेको ठाउँ खोज्नेछन् । त्यहाँ लार्भिसाइड छर्किनेछन् । यसका लागि हिजो राष्ट्रिय सभा गृहबाट कार्यक्रम आरम्भ गर्दै फिल्डमा जाने नगर प्रहरीहरुलाई प्राविधिक र व्यवहारिक सिप सिकाइएको छ ।

यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।   

यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको महानगर प्रमुख बालेन्द्र साहले जानकारी दिएका छन् । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको पनि उनले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update