Kath khabar
सिआइबीले सरकारी वकिललाई बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन

 

                   काठमाडौं, भदौ ५ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन बुझाएको छ।  छानबिन सम्पन्न गरेर केही बेर अगाडी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

गत असार १२ गते सीआईबीले भाटबटेनी सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाह लगायत २३ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । ती मध्ये ५ जना अदालतको आदेशले रिहा भएका थिए भने १८ जना हिरासतमा छन् ।

यो प्रकरणमा सीआईबीले दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्व मन्त्रीहरु चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह, पूर्व मुख्यसचिव लिलामणी पौडेलसँग पनि बयान लिएको छ।

अब अनुसन्धान प्रतिवेदनको अध्ययन विश्लेषण गरेर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्नेछ । सीआईबीले सरकारी लिखत कीर्तेको कसुरमा मुद्दा अगाडी बढाएको छ । ललिता निवास प्रकरणमा संलग्न सरकारी कर्मचारी, भूमाफियासहित साढे तीन सय बढिलाई प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update