काठमाडौं, भदौ ५ । दाङमा एक व्यक्तिलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १३ वर्षीय नाबालकदेखि ३४ वर्षसम्मका युवाहरु रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घोराही उपमहानगरपालिका-१३ डुम्मरगाउँका ४१ वर्षीय जितबहादुर विकलाई उपहरण गरेको आरोपमा ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्तीमगर, ३४ वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका हुन् । अन्य दुई जना भने १३ वर्षीय बालक रहेका छन् ।
आइतबार राति करिब साढे १० बजेतिर घोराही-१३ सेवार सप्तरगी टोलस्थित भाडामा बस्ने ४१ वर्षीय जितबहादुर बिकलाई उनीहरुले जबरजस्ती अपरहरण गरेका थिए । बिकलाई अपहरण गरेको सूचना प्रहरीलाई पाएपछि खोज्दै जाँदा उनीहरुलाई सोमबार बिहान साढे ३ बजेतिर बिकलाई घोराही-१९ थकालीकोटस्थित दिपकको खाली घरको भुइँतलामा बन्धक बनाई राखेको र उनीहरुले ज्यान मार्ने उद्देश्यले कुटपिट गरी घाइते भएको प्रहरीले फेला पारेको थियो ।
उनीहरुले व्यक्तिगत रिसिभीका कारण कुटपिट गरेको बताएका प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध ‘अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।