Kath khabar
बालसुधार गृहबाट भागेका १२ कैदीबन्दी अझै फरार, खोजीकार्य जारी

 

                   भक्तपुर, भदौ ५ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ सानोठिमीस्थित बालसुधार गृहबाट तोडफोड गरी भागेका कैदीबन्दीहरु मध्ये १२ जना अझैपनि फरार रहेका छन् । उनीहरुको आज मंगलबार पनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तोडफोड गरेर भागेका २४३ बालकलाई प्रहरीले पक्राउ गरिसकेको छ । भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले उनीहरुको खोजी कार्य निरन्तर जारी रहेको जनाएका छन् । बाल सुधार गृहमा २५५ बालक र ४३ बालिका गरी २९८ जना रहेका छन् ।

आइतबार कैदी जीवन बिताइरहेका मन्थली नगरपालिका–३, कठजोरका वर्ष १८ का कमल बस्नेतको बालसुधार गृहमा रहस्यमय मृत्यु भएपछि आफन्तले सुधार गृहको गेट अगाडि विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा सोमबार स्थिति तनावग्रस्त बनेको थियो ।

सोमबार कैदीवन्दीले आन्दोलनलाई उग्र बनाउँंदै मुल गेटबाट जबरजस्ती बाहिर आएपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । यस क्रममा कैदीबन्दी र प्रहरीबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रण गर्न प्रहरीले गोली प्रहार गरेपछि कैदीबन्दी झन आक्रोशित हुँदै प्रहरीलाई लखेटेर बाहिर निस्केर भागेका थिए ।

झडपमा परी प्रहरीतर्फ १९ जना र कैदीबन्दीतर्फ १० जना गरी २९ जना घाइते भएको प्रहरीले जनाएको थियो । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीतर्फ घाइते भएकाहरु नागरिक अस्पतालमा दुईजना, भक्तपुर अस्पतालमा दुईजना, भक्तपुर ईन्टरनेशनलल अस्पतालमा दुईजना, मध्यपुर अस्पतालमा पाँंचजना, सशस्त्रको नागरिक अस्पतालमा आठजना गरी कुल १९ जनाको उपचार भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

यस्तै बन्दी बालबालिकातर्फ नागरिक अस्पतालमा सातजना, ट्रमा सेन्टरमा तीनजना गरी दसजनाको उपचार भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । प्रहरीले आज पनि काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा ती बालकहरूलाई खोजिरहेको बताएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update